(१) नियम १६ बमोजिम योग्यताक्रम प्रकाशन भए पछि छनौट समितिले त्यस्तो योग्यताक्रममा रहेका उम्मेदवारलाई आफूले अध्ययन गर्न चाहेको विषय र शिक्षा मन्त्रालयलाई प्राप्त भएको छात्रवृत्ति सिट संख्याको अधीनमा रही शिक्षण संस्थाको प्राथमिकताक्रम तोक्न कम्तीमा सात दिनको म्याद दिई सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशित भए पछि सम्बन्धित उम्मेदवारले छनौट समितिले उपलब्ध गराएको फाराममा आफूले अध्ययन गर्न चाहेको विषय, शिक्षण संस्था वा मुलुकको प्राथमिकताक्रम तोक्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राथमिकताक्रम प्राप्त भए पछि छनौट समितिले नियम १६ बमोजिमको योग्यताक्रमको आधारमा छात्रवृत्तिको विषय तथा स्वदेशको हकमा सम्बन्धित शिक्षण संस्था र विदेशको हकमा सम्बन्धित मुलुकको नाम खुलाई मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको सूची प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सूची प्रकाशन गर्दा सम्बन्धित उम्मेदवारले सम्पर्क राख्नु पर्ने अवधि तथा दावी विरोध गर्न चाहने उम्मेदवारले दावी विरोध गर्न पाउने समय समेत उल्लेख गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र कसैको दावी विरोध परेमा छनौट समितिले सो सम्बन्धमा आवश्यक छानविन गरी अन्तिम सूची तयार गरी उम्मेदवार मनोनयनका लागि शिक्षा मन्त्रालय समक्ष पेश गर्नेछ ।
(६) उपनियम (५) बमोजिम उम्मेदवार मनोनयन गर्न सिफारिस प्रापत भए पछि शिक्षा मन्त्रालयले सम्बन्धित उम्मेदवारलाई छात्रवृत्तिमा मनोनयन गर्नु पर्नेछ ।
(७) उपनियम (४) बमोजिमको अवधिभित्र मुख्य उम्मेदवार सम्पर्क गर्न नआएमा वा निजले अध्ययन गर्न नचाहेमा शिक्षा मन्त्रालयले वैकल्पिक उम्मेदवारलाई योग्यताक्रमको आधारमा मनोनयन गर्नेछ ।